सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौं: सङ्खुवासभाको चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार आइतबार ३९ वर्षीया कुमारी राईको चट्याङ लागेर मृत्यु भएको  हो।

वर्षासँगै आएको हावाहुरीका क्रममा घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा राईलाई चट्याङ लागेको थियो। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नुम प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

राईको शव जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ। शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ।