होटल–रेस्टुरेन्टको खाद्य गुणस्तरमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं: गृह मन्त्रालयले देशभरका होटल तथा रेस्टुरेन्टहरूमा खाद्य गुणस्तर र सरसफाइको अवस्था सुधार गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई कडा अनुगमन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले असार १५ गते सबै प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै नागरिक स्वास्थ्य सुरक्षा, उपभोक्ता अधिकार संरक्षण तथा बजार अनुगमनलाई उच्च प्राथमिकतामा राखेर काम गर्न भनेको हो।

मन्त्रालयका अनुसार होटल तथा रेस्टुरेन्टहरूमा उपलब्ध गराइने खानाको गुणस्तर र स्वच्छताबारे व्यापक जनगुनासो आएपछि नियमित, सघन तथा आकस्मिक अनुगमनको व्यवस्था गर्न लागिएको छ।

गृहमन्त्री सुधन गुरुङको निर्देशनअनुसार सञ्चालन हुने अनुगमनका क्रममा खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गर्ने तथा नागरिक स्वास्थ्यमा असर पुर्‍याउने व्यवसायमाथि कानुनबमोजिम कडा कारबाही गरिनेछ।

निर्देशनमा प्रत्येक जिल्ला प्रशासन कार्यालयमा हटलाइन वा द्रुत सेवा डेस्कसहित प्रभावकारी गुनासो सुनुवाइ संयन्त्र स्थापना गर्न पनि भनिएको छ। नागरिकबाट प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरी तत्काल समाधान गर्न मन्त्रालयले निर्देशन दिएको छ।

स्थानीय तहमा उत्पन्न हुने समस्या र गुनासाहरू जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा समाधान गर्नुपर्ने उल्लेख गर्दै मन्त्रालयले सामान्य विषयमा समेत नागरिकले केन्द्रसम्म धाउनुपर्ने अवस्था अन्त्य गर्न स्थानीय प्रशासनलाई सक्रिय बन्न आग्रह गरेको छ।

मन्त्रालयले जिल्लास्तरको कार्यसम्पादन प्रत्यक्ष रूपमा अनुगमन गर्ने जनाएको छ। कार्यक्षेत्रमा लापरवाही वा उदासीनता देखिएमा त्यसप्रति समेत गम्भीर रूपमा ध्यान दिइने चेतावनी दिइएको छ।