रुकुमपूर्वमा ढिस्कोले पुरिँदा एकको मृत्यु, दुई जना घाइते

रुकुमपूर्व: रुकुमपूर्वमा गिट्टी–बालुवा निकाल्ने क्रममा माटोको ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्लाको भूमे गाउँपालिका–६ महतस्थित कन्टीघाने–सिमखोला भित्री सडकखण्डमा मंगलबार साँझ भएको घटनामा स्थानीय ५० वर्षीय दलखम्ब बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साँझ करिब ५ः३० बजे सडकको भित्ताबाट गिट्टी–बालुवा निकालिरहेका बेला माथिबाट अचानक माटोको ढिस्को खसेर तीनै जना पुरिएका थिए।

घटनापछि प्रहरी र स्थानीयवासीले उद्धार गरी घाइतेहरूलाई जिल्ला अस्पताल रुकुमपूर्व पुर्‍याएका थिए। उपचारका क्रममा दलखम्ब बुढाको मृत्यु भएको हो।

घटनामा ५१ वर्षीय सम्पूर्ण बुढा गम्भीर घाइते भएका छन् भने ३० वर्षीय चिन्तामणि बुढाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।