नयाँ शिक्षा नियमावली : कपाल काट्नेदेखि सार्वजनिक अपमानसम्म प्रतिबन्ध

काठमाडौं: सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१०औँ संशोधन) ले विद्यालयमा विद्यार्थीमाथि हुने केही अनुचित व्यवहारमा रोक लगाएको छ।

नयाँ व्यवस्था अनुसार अब विद्यालयहरूले विद्यार्थीको इच्छाविपरीत कपाल काट्न वा कटाउन पाउने छैनन्।

नियमावलीको नियम २५ मा विद्यालय परिसर वा कक्षाकोठाभित्र विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने कुनै पनि गतिविधि सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ।

यसैगरी, विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउने कार्य पनि निषेध गरिएको छ।

लामो समयसम्म घाम वा अन्य प्रतिकूल अवस्थामा उभ्याएर दण्ड दिने तथा आत्मसम्मान, मर्यादा, शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल असर पर्ने व्यवहार गर्न पनि रोक लगाइएको छ।

नियमावलीले शुल्क नतिरेको कारण विद्यार्थीलाई अपमानित गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। साथै, सार्वजनिक रूपमा लाञ्छित गर्ने, भेदभावपूर्ण व्यवहार गर्ने, कक्षा वा परीक्षामा सहभागी हुनबाट वञ्चित गर्ने जस्ता कार्यसमेत गर्न नपाइने उल्लेख गरिएको छ।