सरकारका सय दिन : सन्तुलित कूटनीति र आर्थिक साझेदारीमा जोड

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले सय दिन पूरा गर्न लाग्दा परराष्ट्र नीतिलाई राष्ट्रिय हित, आर्थिक कूटनीति र सन्तुलित अन्तरराष्ट्रिय सम्बन्धमा केन्द्रित गरेको जनाएको छ।

सरकारले परराष्ट्र मन्त्रालयमार्फत संस्थागत कूटनीतिक अभ्यासलाई प्राथमिकता दिँदै विदेशी कूटनीतिक प्रतिनिधिसँगको भेटघाटलाई व्यवस्थित बनाएको दाबी गरेको छ।

यस अवधिमा परराष्ट्रमन्त्री शिशिर खनाल ले भारत र चीनको औपचारिक भ्रमण गरी नेपालको विकास प्राथमिकता, लगानी, ऊर्जा, व्यापार, कनेक्टिभिटी र जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल गरेका छन्।

सरकारका अनुसार दुवै छिमेकी मुलुकसँग पारस्परिक सम्मान, सार्वभौम समानता र आपसी हितका आधारमा सम्बन्ध विस्तार गर्ने नीति अवलम्बन गरिएको छ। चीनसँग पूर्वाधार, ऊर्जा, व्यापार, पर्यटन, कृषि तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको जनाइएको छ।

भारतसँग सीमा व्यवस्थापन, ऊर्जा व्यापार, जलस्रोत, आर्थिक सहकार्य तथा जनस्तरीय सम्बन्ध सुदृढीकरणका विषय उठाइएको बताइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशील र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति अवलम्बन गरिरहेको छ।

साथै, क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा सक्रिय सहभागिता जनाउँदै आर्थिक कूटनीति, दिगो विकास, जलवायु प्रतिकार्य र अन्तरराष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राखिएको जनाएको छ।

हालै हिन्द महासागर सम्मेलन मा सहभागिता जनाउँदै नेपालले समुद्री पहुँच, क्षेत्रीय कनेक्टिभिटी, जलवायु चुनौती र बहुपक्षीय सहकार्यका विषयमा आफ्नो धारणा प्रस्तुत गरेको थियो। सरकारले यसलाई नेपालको अन्तरराष्ट्रिय उपस्थिति सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ।

नेपाल दुई ठूला छिमेकी मुलुक भारत र चीन बीच अवस्थित भएकाले सन्तुलित र राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति नै वर्तमान सरकारको प्राथमिकता रहेको सरकारको भनाइ छ।