काठमाडौं: प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा भएको अवसरमा विभिन्न क्षेत्रका उपलब्धिहरू सार्वजनिक गरेको छ।
सरकारले यस अवधिलाई शासकीय सुधारको आधार वर्षका रूपमा अघि बढाइएको जनाएको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सस्मित पोखरेलले प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन, डिजिटल शासन विस्तार, सार्वजनिक सेवा सुधार तथा आर्थिक अनुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए।
सरकारले प्रशासनिक संरचना पुनर्संरचना गर्दै मन्त्रालयको संख्या २२ बाट १८ मा झारेको जनाएको छ। त्यस्तै, भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरिएको र विगतका वर्षहरूमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति विवरण संकलन तथा विश्लेषण भइरहेको जानकारी दिइयो।
त्यसैगरी, सरकारी तथा सार्वजनिक सम्पत्तिको दुरुपयोग र नीतिगत अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको सरकारको भनाइ छ।
यसैगरी, डिजिटल शासनतर्फ, बैंक खाता, डिजिटल वालेट र सेयर लगानीसम्बन्धी विवरण समेटिने एकीकृत डिजिटल सम्पत्ति प्रणाली निर्माणको प्रक्रिया सुरु गरिएको तथा सरकारी सेवाहरूलाई नागरिक एप र अन्य डिजिटल प्लेटफर्ममार्फत विस्तार गरिएको जनाइएको छ।
त्यस्तै, ‘हेलो सरकार’ गुनासो व्यवस्थापन प्रणालीलाई स्तरोन्नति गरी संघ, प्रदेश र स्थानीय तहका हजारौं कार्यालयसँग जोडिएको र सेवा प्रवाहलाई छिटो तथा प्रभावकारी बनाउन एकीकृत ड्यासबोर्ड प्रयोगमा ल्याइएको पनि प्रवक्ताले जानकारी दिए।
सार्वजनिक सम्पत्ति संरक्षण, भूमिहीन व्यवस्थापन, सहकारी क्षेत्र सुधार, सुरक्षा व्यवस्था सुदृढीकरण तथा केही अनुत्पादक सरकारी निकायहरूको खारेजी र पुनर्संरचना प्रक्रिया अघि बढाइएको सरकारको दाबी छ।
बालेन सरकारको एक सय दिनको समिक्षा



















