इन्धनको भाउ घट्यो, उपभोग्य वस्तु पनि सस्तो बनाउन सरकारको आग्रह

काठमाडौं: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै व्यवसायी तथा सेवा प्रदायकलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै इन्धन मूल्य कटौतीको लाभ आम उपभोक्तासम्म पुग्नुपर्ने जनाएको हो।

विभागका अनुसार मध्यपूर्वमा देखिएको तनावका कारण बढेको इन्धनको मूल्य सामान्य अवस्थामा फर्किएपछि नेपाल आयल निगमले असार १६ गतेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

इन्धन सस्तो भएसँगै ढुवानी लागतमा कमी आउने भएकाले खाद्यान्नलगायत अन्य वस्तु तथा सेवाको मूल्य पनि समायोजन हुनुपर्ने विभागको भनाइ छ।

मन्त्री यादवले कृत्रिम मूल्यवृद्धि रोक्न र अत्यावश्यक वस्तु तथा सेवा सुपथ मूल्यमा उपलब्ध गराउन विभागलाई आवश्यक पहल गर्न निर्देशन दिएकी छन्।

विभागले विक्रेता, ढुवानी व्यवसायी तथा सेवा प्रदायकलाई उपभोक्तामैत्री मूल्य निर्धारण गर्न आग्रह गर्दै इन्धन मूल्य घटेको प्रभाव बजारमा प्रतिबिम्बित हुने गरी जिम्मेवार भूमिका निर्वाह गर्न सबै सरोकारवालासँग अनुरोध गरेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ताको अधिकार संरक्षण गर्नु सबै पक्षको साझा दायित्व भएको विभागले जनाएको छ।