काठमाडौं: संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
दोस्रो अधिवेशनको ३१औँ बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रस्ताव प्रस्तुत हुनेछन्।
कार्यसूचीअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सभामा पेस गर्नेछिन्। अनुमति प्राप्त भएपछि उक्त विधेयक संसद्मा टेबुल गरिनेछ।
यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेछन्।
त्यसैगरी युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग सम्बन्धित दुईवटा महासन्धिमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन्।
तीमध्ये बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ र श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) रहेका छन्।
संसद् सचिवालयका अनुसार बैठकमा प्रस्तुत हुने विधेयक र प्रस्तावहरूलाई आवश्यक प्रक्रिया अनुसार अगाडि बढाइनेछ।



















