काठमाडौं: ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नाराका साथ सञ्चालन हुँदै आएको वाग्मती सफाइ महाअभियान ६८७औँ हप्तामा प्रवेश गरेको छ।
शनिबार काठमाडौं महानगरपालिका–९ र ३१ अन्तर्गत सिनामंगलदेखि बानेश्वर क्याम्पसअघिको वाग्मती नदी किनारसम्म सरसफाइ गरी दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ।
अभियानकर्मी डा. माला खरेलका अनुसार संकलित नकुहिने फोहर काठमाडौं महानगरपालिकाको वातावरण विभाग, टेकुको ट्रकमार्फत व्यवस्थापन गरिएको हो।
कुहिने फोहर भने नदी किनारमा रोपिएका बिरुवाका लागि मल हुने गरी गाडिएको छ।
सरसफाइ कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, वाग्मती सफाइ अभियानका स्वयंसेवक, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी तथा गैरीगाउँ, बानेश्वर क्याम्पस र सानो फलामे पुल आसपासका स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।
यस अवसरमा काठमाडौं महानगरपालिका–९ का वडा सदस्य टेकराज अधिकारीले उपलब्ध गराएका लप्सी र एभोकाडोका बिरुवा वाग्मती किनारमा रोपिएको छ।
त्यसैगरी, अभियानकर्मी नारायणकुमार श्रेष्ठको शुक्रबार परेको जन्मदिनको अवसरमा वाग्मती किनारमा लप्सीको बिरुवा रोपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।
वि.सं. २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानअन्तर्गत प्रत्येक शनिबार बिहान दुई घण्टा नदी किनारमा नियमित सरसफाइ हुँदै आएको छ।
जाडो, गर्मी, वर्षा, भूकम्प र कोरोना महामारीजस्ता प्रतिकूल परिस्थितिमा पनि अभियान निरन्तर सञ्चालन हुँदै आएको छ। शनिबार कुनै पनि चाडपर्व परे पनि अभियानकर्मीहरूले नियमित रूपमा वाग्मती सफाइ अभियानलाई निरन्तरता दिँदै आएका छन्।
























