काठमाडौं: सुदूरपश्चिम प्रदेशमा कालाजार (भिसेरल लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही वर्षयता निरन्तर घट्दै गएको छ।
उपचार सेवा विस्तार, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, निःशुल्क औषधि तथा परीक्षण, सङ्क्रमितको सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको प्रभावकारी निगरानीका कारण सङ्क्रमण दरमा उल्लेखनीय कमी आएको हो।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दिपायलका कीट नियन्त्रण निरीक्षक हेमराज जोशीका अनुसार विगतमा कालाजारको उपचार सेवा धनगढीमा मात्रै उपलब्ध थियो। पछि उक्त सेवा महेन्द्रनगरसम्म विस्तार गरियो। हाल अधिकांश प्रादेशिक तथा जिल्ला अस्पतालमा कालाजारको परीक्षण र उपचार सेवा उपलब्ध रहेको उनले बताए।
उनका अनुसार स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, आवश्यक औषधि, परीक्षण किट तथा दक्ष जनशक्तिको व्यवस्थापन, साथै सङ्क्रमित भेटिएका गाउँमा सक्रिय खोज अभियान सञ्चालन गरिएकाले कालाजारका बिरामीको सङ्ख्या घट्दै गएको हो।
जोशीका अनुसार राष्ट्रिय स्तरमा सन् २०२३ मा २४९, सन् २०२४ मा ३१८, सन् २०२५ मा २४९ जना र सन् २०२६ को जुलाई ९ तारिखसम्म ११५ जना कालाजारका सङ्क्रमित पुष्टि भएका छन्।
उनले अहिले वर्षायामको सुरुआत भएकाले बिरामीको सङ्ख्या कम देखिए पनि वर्षा र त्यसपछिको मौसममा सङ्क्रमण बढ्ने सम्भावना रहने बताए। विशेषगरी जनवरीदेखि अक्टोबरसम्म कालाजारका बिरामी बढी देखिने गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा गरिएको अध्ययनले सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ स्थानीय तहमध्ये करिब आधा क्षेत्रमा कालाजार सार्ने भुसुना फेला परेको देखाएको पनि उनले जानकारी दिए।
सन् २०२५ मा प्रदेशमा सबैभन्दा बढी कैलालीमा ११ जना कालाजारका बिरामी भेटिएका थिए भने त्यसपछि कञ्चनपुरमा सङ्क्रमित फेला परेका थिए। हाल जिल्ला अस्पतालहरूमा कालाजारको परीक्षण, औषधि र उपचार सेवा निःशुल्क उपलब्ध छ। आवश्यक औषधि र परीक्षण किट डब्लुएचओको सहयोगमा उपलब्ध गराइँदै आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
कालाजारबाट बच्न घर वरिपरिका झाडी सफा गर्ने, भित्ताका चिरा पुरेर भुसुना बस्ने स्थान नष्ट गर्ने तथा आवश्यक परे कीटनाशक औषधि छर्कने उपाय अपनाउन कीट नियन्त्रण निरीक्षक जोशीले सुझाव दिएका छन्।
नेपाल सरकारले सन् २०२६ भित्र भिसेरल लिस्मानियासिसलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा उन्मूलन गर्ने लक्ष्यसहित निगरानी, उपचार तथा जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ।



















