काठमाडौं: निरन्तर वर्षासँगै पहिरो र ढुंगा खस्ने जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन रोकिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन स्थगित गरिएको जनाएको छ।
सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोलामा सडकमाथिबाट निरन्तर ढुंगा झरिरहेकाले सडक दुवैतर्फ अवरुद्ध बनेको छ। यस्तै, सेती दोभान क्षेत्रमा माथिबाट लेदो खसेपछि सवारी आवागमन थप प्रभावित भएको छ।
प्रशासनले मौसममा सुधार नआएसम्म अनावश्यक यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे सम्बन्धित निकायबाट जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ।
सोमबार साँझ करिब ७:३० बजेसम्म सडक सञ्चालनमा आउन नसकेको जनाइएको छ।



















