काठमाडौं: प्रधानमन्त्री वालेन्द्र साह (बालेन)ले मन्त्रालयका सचिवहरूसँग आकस्मिक बैठक गर्दै सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
प्रधानमन्त्रीले सोमबार कार्यालय समय सकिनुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई बोलाएर छलफल गरेका हुन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बैठकमा १०० बुँदे कार्यसूचीको कार्यप्रगति, मन्त्रालयबीचको समन्वय र कार्यान्वयनमा देखिएका चुनौतीबारे समीक्षा गरिएको थियो।
सरकारले कार्यसूचीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यसअघि नै ‘पीएम डेलिभरी युनिट’ गठन गरिसकेको छ। विभिन्न मन्त्रालयबीच समन्वय बढाएर कार्यान्वयनलाई नतिजामुखी बनाउने उद्देश्यले उक्त संयन्त्र स्थापना गरिएको हो।
प्रधानमन्त्रीले कार्यसूचीमा समेटिएका कार्यक्रमको कार्यान्वयनमा कुनै ढिलासुस्ती हुन नहुने भन्दै तोकिएको समयसीमाभित्र परिणाम देखिने गरी काम गर्न सचिवहरूलाई निर्देशन दिएको स्रोतले जनाएको छ।
बैठकमा प्रशासनिक सुधार, सेवा प्रवाह, नागरिक सुरक्षा, विकास निर्माण र पूर्वाधारलगायतका विषयमा पनि छलफल भएको थियो। ती क्षेत्रमा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मन्त्रालयहरूबीच समन्वयात्मक ढंगले अघि बढ्न प्रधानमन्त्रीले आग्रह गरेका थिए।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठक सोमबार साँझ सम्पन्न भएको हो।



















