उमेश श्रेष्ठले सम्हाले प्रेस काउन्सिल नेपालको नेतृत्व

काठमाडौं: प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका पत्रकार तथा सञ्चारकर्मी उमेश श्रेष्ठले पदभार ग्रहण गरेका छन्।

मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका श्रेष्ठले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र बुझेका हुन्।

नियुक्तिपत्र ग्रहणपछि श्रेष्ठले बदलिँदो सञ्चार परिवेशअनुसार प्रेस तथा सञ्चारसम्बन्धी कानुन परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याउँदै पत्रकारितामा स्वनियमनको अभ्यासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए।

उनले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, प्रेस स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताए।

सरकार र सञ्चार क्षेत्रबीच विश्वास अभिवृद्धि गर्ने सेतुका रूपमा प्रेस काउन्सिललाई सक्रिय बनाइने उनको भनाइ थियो।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नवनियुक्त अध्यक्षलाई सफल कार्यकालको शुभकामना दिँदै परिणाममुखी ढंगले काम गर्न आग्रह गरे। उनले सञ्चार क्षेत्रलाई समयानुकूल बनाउन मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल भइरहेको जानकारी दिए।

मन्त्री तिमिल्सिनाले गलत सूचना, दुष्प्रचार र कृत्रिम बुद्धिमत्तामार्फत सिर्जना हुने भ्रामक सामग्री नियन्त्रणमा प्रेस काउन्सिलले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

नेपाली भाषाको पहिलो ब्लग ‘माइसंसार’का संस्थापक श्रेष्ठ पत्रकारितामा स्नातकोत्तर हुन्। उनले नागरिकन्युज डटकम, अन्नपूर्णपोस्ट डटकम र पहिलोपोस्ट डटकममा विभिन्न जिम्मेवारी सम्हाल्दै लामो समय पत्रकारितामा योगदान दिएका छन्।