श्रमशोषण अन्त्यको माग गर्दै प्रशिक्षार्थी चिकित्सकको प्रदर्शन

काठमाडौं: विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका प्रशिक्षार्थी चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकले आफूहरूमाथि भइरहेको श्रमशोषणको विरोध गर्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रमशोषणविरुद्धको संघर्ष समिति’को नेतृत्वमा भएको प्रदर्शनमा सहभागी चिकित्सकहरूले श्रम ऐन, २०७४ अनुसार प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय दैनिक अधिकतम १२ घण्टा र साप्ताहिक ७२ घण्टाभन्दा बढी हुन नहुने व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन्। साथै, सातामा कम्तीमा एक दिन अनिवार्य बिदा सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ।

प्रदर्शनकारीहरूले हाल आफूहरूलाई तोकिएको समयभन्दा बढी काममा खटाइँदै आएको गुनासो गर्दै हप्तामा ४८ घण्टाभन्दा बढी काम गराए श्रम ऐनबमोजिम अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराउनुपर्ने बताएका छन्।

उनीहरूले सरकारले बजेटमार्फत वृद्धि गरेको पारिश्रमिक तथा यसअघि भएको सहमतिअनुसार आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरहको तलब–सुविधा तत्काल कार्यान्वयन गर्न पनि माग गरेका छन्।

त्यसैगरी, एमबीबीएस तथा बीडीएस अध्ययन पूरा गरेपछि एमडी, एमएस वा एमडीएस अध्ययनका लागि अनिवार्य रूपमा एक वर्ष कार्यअनुभव गर्नुपर्ने प्रावधान खारेज गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्।

प्रदर्शनका क्रममा सहभागी चिकित्सकहरूले प्रशिक्षार्थी चिकित्सकको श्रम, सेवा–सुविधा र पेशागत अधिकारको सम्मान गर्दै सरकारले माग सम्बोधन गर्नुपर्ने बताएका छन्।