प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा युवाको प्रदर्शन

काठमाडौं: नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने माग गर्दै युवाहरूको एक समूहले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।

‘समृद्ध नेपालको आधार’ भन्ने नारासहित आयोजित प्रदर्शनमा सहभागी युवाहरूले मुलुकको राजनीतिक प्रणालीमा संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन्। उनीहरूले आगामी २०८७ सालभित्र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीहरूले प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई थप अधिकार र स्रोतसाधनसहित सुदृढ बनाउनुपर्ने, मन्त्रिपरिषद्लाई १० सदस्यीय बनाउनुपर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्र पूर्ण रूपमा राज्यको जिम्मेवारीमा सञ्चालन हुनुपर्ने माग अघि सारे।

उनीहरूले सबै बैंकको राष्ट्रियकरण गर्नुपर्ने, अपराध नियन्त्रणका लागि कडा कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्ने तथा सुकुम्बासी, भूमिहीन किसान र जग्गाविहीन नागरिकको समस्या समाधान गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्नेमा पनि जोड दिए।

आन्दोलनमा सहभागी अर्जुन विश्वकर्माले देशको समृद्धि, सुशासन र राजनीतिक स्थायित्वका लागि वर्तमान राजनीतिक तथा आर्थिक संरचनामा सुधार अपरिहार्य भएको बताए।

प्रदर्शनमा सहभागी युवाहरूले सीप र प्रविधिमा आधारित व्यावहारिक शिक्षा प्रणाली विकास गर्न वर्तमान शैक्षिक पाठ्यक्रम पुनर्लेखन गर्नुपर्ने मागसमेत राखेका छन्।
उनीहरूले आफ्ना मागप्रति सरकारले चाँडो ध्यान नदिए आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने चेतावनी दिएका छन्।