मौसम महाशाखाको चेतावनी : यी प्रदेशमा थप वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न प्रदेशमा वर्षा जारी रहेकाले थप वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले आइतबार राति ९:१० बजे जारी गरेको सूचनाअनुसार हाल कोसी र बागमती प्रदेशका केही स्थान, लुम्बिनी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

महाशाखाले ती तथा आसपासका क्षेत्रमा थप वर्षा हुन सक्ने भएकाले नदी, खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका अधिकांश स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा, साथै तराईका अधिकांश क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्छ। त्यस्तै, बागमती प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।