काठमाडौं: साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार छैटौं दिन पनि हरियो रहँदै ७.२५ अंकले बढेको छ।
यससँगै नेप्से २ हजार ७२६.४९ विन्दुमा बन्द भएको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स भने ०.१८ अंकले घट्दा फ्लोट इन्डेक्स ०.१९ अंकले बढेको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स स्थिर रहेको छ।
बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। सोमबार ५ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कुल ३४३ कम्पनीका १ करोड ४९ लाख २४ हजार कित्ता सेयर ७५ हजार १० पटक कारोबार भएका हुन्।
मंगलबार एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य पुनः सकारात्मक सर्किट लाग्दै ५५ रुपैयाँ ८० पैसाले बढेर ४२८ रुपैयाँ २० पैसामा पुगेको छ। कालंगा हाइड्रोको सेयर करिब ७.५ प्रतिशतले उकालो लाग्दा बोटलर्स नेपाल (बालाजु) को मूल्य पनि करिब साढे ७ प्रतिशतले बढेको छ। विपरीत, ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य सबैभन्दा धेरै ७.४४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ५५ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि आँखुखोला जलविद्युत कम्पनीको करिब ३१ करोड ५० लाख रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूह ओरालो लागेका छन्। व्यापार उपसमूह सबैभन्दा धेरै २.८८ प्रतिशतले बढेको छ। अन्य उपसमूहमा १ प्रतिशतभन्दा बढी वृद्धि हुँदा बैंकिङ, लगानी तथा उत्पादन तथा प्रशोधन उपसमूहमा पनि सामान्य सुधार देखिएको छ।


















