काठमाडौं: प्रधानमन्त्री बालेन साहले नेपालको हस्तकला क्षेत्रलाई मुलुकको सांस्कृतिक पहिचान र आर्थिक समृद्धिसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सिंहदरबारमा बुधबार नेपाल हस्तकला महासंघका प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा प्रधानमन्त्री शाहले हस्तकला क्षेत्रको प्रवर्द्धन, संरक्षण र विस्तारका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराइने बताएका हुन्।
उनले सातै प्रदेशमा हस्तकलाग्राम स्थापना गरी उत्पादन, सीप विकास र रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रबीच सहकार्य गरिने उल्लेख गरे।
प्रधानमन्त्री साहका अनुसार नेपाली हस्तकलालाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउँदै निर्यात वृद्धि र विदेशी मुद्रा आर्जनमा योगदान पुर्याउने सरकारको लक्ष्य छ। यसका लागि हस्तकला उद्योगको आधुनिकीकरण, बजार विस्तार र आवश्यक पूर्वाधार विकासमा पनि ध्यान दिइने उनले बताए।
नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले भेटका क्रममा हस्तकला क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिए। उनका अनुसार महासंघले विगत १५ वर्षदेखि मनाउँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय दिवसका रूपमा मान्यता दिन प्रस्ताव गरेको छ।
उक्त प्रस्तावलाई सम्बन्धित निकायमार्फत अघि बढाउने प्रतिबद्धता प्रधानमन्त्रीबाट प्राप्त भएको उनले बताए। अध्यक्ष शाक्यका अनुसार हस्तकला क्षेत्रका समस्या, चुनौती र सम्भावनाको समग्र अध्ययन तथा दीर्घकालीन विकासका लागि हस्तकला विकास बोर्ड गठन गर्ने विषयमा पनि सकारात्मक छलफल भएको छ।
त्यस्तै, लामो समयदेखि निष्क्रिय रहेको सार्क हस्तकला विकास केन्द्रलाई पुनः सञ्चालनमा ल्याउने विषयमा सम्बन्धित निकायसँग समन्वय गर्ने सहमति भएको उनले जानकारी दिए।
छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा हस्तकला व्यवसायी र निर्यातकर्ताहरूको सहभागिता रहेको थियो।


















