टोकियो: जापानमा भीषण गर्मीले नयाँ कीर्तिमान बनाउँदै विभिन्न सहरको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जापान मौसम विज्ञान एजेन्सीले पहिलोपटक ‘कोकुशोबी’ (क्रूर रूपमा तातो दिन) भन्ने नयाँ शब्दावली प्रयोग गरेको छ।
देशका ४७ मध्ये ४१ प्रान्तमा हिटस्ट्रोकको चेतावनी जारी गरिएको छ। मंगलबार मध्य जापानका तीन सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो भने बुधबार पनि नागोया, टोकियो आसपासका पूर्वी क्षेत्र तथा अन्य स्थानमा तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा वा त्यसभन्दा माथि पुगेको थियो।
मौसम विज्ञान एजेन्सीले सर्वसाधारण, विशेषगरी ज्येष्ठ नागरिकलाई अत्यधिक सतर्कता अपनाउन, प्रशस्त पानी पिउन, शरीरलाई चिसो राख्न र लामो समयसम्म घाममा नबस्न आग्रह गरेको छ।
यसैबीच, टोकियोको उत्तरस्थित तोचिगी प्रान्तमा ८५ वर्षीय एक वृद्ध आफ्नै कृषि फार्मको हरितगृह (ग्रीनहाउस) भित्र अचेत अवस्थामा भेटिएका थिए। स्थानीय अधिकारीका अनुसार पछि उनको मृत्यु भएको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानमा हरितगृहभित्रको अत्यधिक तापक्रमका कारण घटना भएको अनुमान गरिएको छ।
जापानको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीले अत्यधिक गर्मीलाई प्राकृतिक विपद्कै रूपमा लिन आग्रह गर्दै जुलाईको मध्यदेखि तापक्रम लगातार बढिरहेको र अझ केही दिन गम्भीर गर्मी कायम रहने चेतावनी दिएको छ। चरम गर्मीका कारण हजारौं मानिस अस्पताल भर्ना भएका छन् भने केहीको मृत्यु समेत भएको छ।
वैज्ञानिकहरूका अनुसार मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनका कारण जापानसहित विश्वका विभिन्न भागमा अत्यधिक गर्मीका घटना झन् बारम्बार र तीव्र बन्दै गएका छन्। जापानले गत वर्ष आफ्नो इतिहासकै सबैभन्दा तातो गर्मीयाम अनुभव गरेको थियो। हालसम्म देशमा मापन गरिएको सबैभन्दा उच्च तापक्रम ४१.८ डिग्री सेल्सियस रहेको छ।


















