नेपाल औषधि लिमिटेडलाई आत्मनिर्भर बनाउन मन्त्री यादवको जोड

काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको उत्पादन अवस्था, क्षमता र समस्याबारे जानकारी लिएकी छन्।

बबरमहलस्थित लिमिटेडको कार्यालयमा पुगेकी मन्त्री यादवसँगै उद्योग मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीसहित उच्च अधिकारीहरूको टोली पनि अनुगमनमा सहभागी थियो।

अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले मन्त्री यादवलाई औषधि उत्पादन भइरहेका विभिन्न कक्षको निरीक्षण गराएका थिए। उनले हाल नेपाल औषधि लिमिटेडले २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको जानकारी दिए।

महाप्रबन्धक पनेरुले उत्पादित औषधि देशभर पुर्‍याउन आवश्यक ढुवानी साधनको अभाव रहेको भन्दै समस्या समाधानका लागि पहल गर्न आग्रह गरे। जेनजी आन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सवारीसाधन जलेपछि नयाँ सवारीको व्यवस्था हुन नसक्दा औषधि वितरण प्रभावित भएको उनले बताए।

समस्या सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिवलाई तत्काल आवश्यक सवारीसाधन व्यवस्थापन गर्न निर्देशन दिइन्।

सो अवसरमा महाप्रबन्धक पनेरुले लामो समयदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेड चालु आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँ नाफामा पुग्न सफल भएको प्रगति विवरण प्रस्तुत गरे।

लिमिटेड नाफामा गएकोमा खुशी व्यक्त गर्दै मन्त्री यादवले सरकारी उद्योग तथा संस्थानहरू अब आत्मनिर्भर बन्नुपर्ने बताइन्। उनले संस्थानहरूले कर्मचारी व्यवस्थापन, सञ्चालन खर्चलगायतका आवश्यकता आफ्नै आम्दानीबाट पूरा गर्न सक्ने अवस्था बनाउनुपर्नेमा जोड दिइन्।

‘सरकारी संस्थान हाम्रो आफ्नै सम्पत्ति हुन्। यस्ता संस्थाहरू नाफामा गए देशको अर्थतन्त्र पनि बलियो हुन्छ,’ मन्त्री यादवले भनिन्। उनले आवश्यक परे औषधि न्यून नाफामा बिक्री गरेर भए पनि संस्थाको सम्पूर्ण खर्च आफ्नै स्रोतबाट धान्ने वातावरण बनाउनुपर्ने धारणा राखिन्।

मन्त्री यादवले आगामी पाँच वर्षभित्र देशमा देखिएको निराशाको अवस्था परिवर्तन गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै कर्मचारीलाई जिम्मेवार र इमान्दारीपूर्वक काम गर्न आग्रह गरिन्।