काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीबार पुनः सुधार देखिएको छ।
अघिल्लो दिन सामान्य करेक्सन भएको बजार बिहीबार १४.१७ अंकले बढेर २,७२६.७२ विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स ०.९८ अंक, फ्लोट इन्डेक्स ०.७३ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२९ अंकले वृद्धि भएका छन्। बजार परिसूचकमा सुधार आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार ३३८ कम्पनीको ५७ हजार ७८२ पटकको कारोबारबाट १ करोड ७७ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार भने ५ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
शेयर मूल्यतर्फ एभरेष्ट कलर लिमिटेडमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य ७३ रुपैयाँ ८० पैसा बढेर ५६६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको हो। त्यस्तै स्नो रिभर्सको शेयर मूल्य १३.५ प्रतिशत र एपोलो हाइड्रोपावरको ११ प्रतिशतले बढेको छ। विपरीत, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। कम्पनीको २८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि आँखुखोला जलविद्युत कम्पनीको करिब २७ करोड ५० लाख रुपैयाँ र रिडी पावर कम्पनीको करिब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
उपसमूहगत प्रदर्शनमा १३ मध्ये ११ उपसमूहका परिसूचक बढेका छन् भने दुई उपसमूह घटेका छन्। व्यापार उपसमूह २.५८ प्रतिशतले बढ्दै सबैभन्दा धेरै सुधार देखिएको छ। लगानी र अन्य उपसमूहका परिसूचक भने सामान्य अंकले घटेका छन्।
बजार परिसूचकमा सुधार देखिए पनि कारोबार रकममा आएको कमीले लगानीकर्ताको सहभागिता अझै पूर्ण रूपमा बढ्न नसकेको संकेत गरेको छ। यद्यपि अधिकांश उपसमूह हरियो रहनुले बजारमा सकारात्मक मनोविज्ञान कायम रहेको देखिन्छ।


















