काठमाडौं: प्रधानमन्त्री बालेन्द्र साहले नेपालमा उत्पादित अर्ग्यानिक कृषिजन्य वस्तुको अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण देशभित्रै गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री साहले यस्तो निर्देशन दिएका हुन्।
छलफलमा व्यवसायीहरूले विदेशबाट अन्तर्राष्ट्रिय प्रमाणीकरण गराउँदा अत्यधिक खर्च लाग्ने भएकाले सरकारकै पहलमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना गर्न माग गरेका थिए।
प्रधानमन्त्री साहले देशभित्र एजेन्सी स्थापना नभएसम्म प्रमाणीकरणमा सरकारले दिँदै आएको ७५ प्रतिशत अनुदान पुनः सञ्चालन गर्ने विषयमा सकारात्मक रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले अनियन्त्रित रूपमा भइरहेको रासायनिक मल तथा विषादीको प्रयोग नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्द्धनका लागि सरकारले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।
साथै, प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारीलाई अनुदान उपलब्ध गराउने र रासायनिक मलसरह सुविधा अर्ग्यानिक मललाई पनि उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
उनले दुई वर्षदेखि रोकिएको अर्ग्यानिक उत्पादन निर्यात अनुदानसम्बन्धी कानुनी समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयले आवश्यक कार्यविधि तयार गरिरहेको जानकारी पनि दिए।
छलफलमा अर्ग्यानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरू तथा गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्यलगायतको सहभागिता रहेको थियो।


















