चितवन: दूधको चरम अभावका कारण चितवन मिल्क उद्योग तीन महिनादेखि पूर्ण रूपमा बन्द भएको छ।
डेरी तथा दुग्ध सहकारीहरूले संकलन गरेको दूध प्रशोधन गरी पाउडर दूध र नौनी उत्पादन गर्दै आएको उद्योगमा वैशाखदेखि दूध आउन छाडेपछि उत्पादन ठप्प बनेको हो।
उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार अघिल्ला वर्षहरूमा असार–साउनमा मात्रै दूधको कमी हुने गरे पनि यस वर्ष वैशाखदेखि नै अभाव सुरु भएकाले उद्योग सञ्चालन गर्न नसकिएको हो। अहिले उद्योगमा मौज्दात नौनी लगभग सकिएको छ भने पाउडर दूध करिब एक हजार बोरा मात्र बाँकी रहेको उनले जानकारी दिए।
विगतका वर्षहरूमा यही समयमा करिब ५०० टन नौनी र छ हजार बोरासम्म पाउडर दूध भण्डारणमा रहने गरेको थियो। चितवन, मकवानपुर, नवलपरासी र रूपन्देहीलगायत जिल्लाबाट दूध संकलन हुने उद्योगले डेरी तथा सहकारीहरूको दूध प्रशोधन गर्दै आएको छ। उद्योगले पाउडर दूध प्रशोधनबापत प्रतिलिटर ११३ रुपैयाँ र बटर प्रशोधनबापत प्रतिकिलो ५५ रुपैयाँ शुल्क लिने गरेको छ।
भरतपुर महानगरपालिका–१, ठिमुरामा रहेको उद्योग २०७५ सालदेखि शुल्क लिएर दूध प्रशोधन सेवा सञ्चालन गर्दै आएको हो। उद्योगमा हाल ३३ जना कर्मचारी कार्यरत छन्। व्यवस्थापनले भदौदेखि दूधको आपूर्ति बढ्ने र उद्योग पुनः सञ्चालनमा आउने अपेक्षा गरेको छ।
२०६४ सालमा स्थापना भएको उद्योग २०७२ सालको भूकम्पपछि केही समय बन्द भएको थियो। त्यसअघि उद्योगले आफैं दूध खरिद, प्रशोधन र बजारमा बिक्री गर्ने व्यवस्था सञ्चालन गर्दै आएको थियो।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार भारतमा दूधको अभाव भएपछि सीमावर्ती क्षेत्रबाट नेपाली दूध भारततर्फ जान थालेको छ। त्यसका कारण स्वदेशमा प्रशोधनका लागि आवश्यक दूधको अभाव सिर्जना भएको हो। यद्यपि दूधको माग बढेकाले किसानहरूले भने अहिले राम्रो मूल्य पाइरहेका छन्।


















