जनकपुरधाम: मधेस प्रदेश प्रहरीले लागूऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेसंगै तीन आर्थिक वर्षमा लागूऔषध कारोबार तथा सेवनमा संलग्न २,८११ जना पक्राउ परेका छन्।
यस अवधिमा २,१२१ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा २,५५४ नेपाली, २५३ भारतीय र एक विदेशी नागरिक रहेका छन्।
गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै ८७१ जना पक्राउ परेका छन् भने ६३० वटा मुद्दा दर्ता भएका छन्। सो अवधिमा प्रहरीले १५,३८२ किलो गाँजा, २७२ किलो चरेस, तीन किलो अफिम, २,८३१ ग्राम हिरोइन, ५१६ ग्राम ब्राउन सुगर, ४ लाख ७३ हजार ४८५ ट्याब्लेट, २,११८ बोतल सिरप र १८ हजार १२५ इन्जेक्सन बरामद गरेको जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८३६ जना पक्राउ परेका थिए भने २०८०/८१ मा १,१०४ जना पक्राउ परेका थिए।
प्रहरीका अनुसार नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै सीमावर्ती भारतीय बजारबाट लागूऔषध नेपाल भित्र्याउने क्रम बढ्दो छ। सीमा नाकामा कडाइ गरिएपछि ओहोरदोहोर गर्ने युवाको साथबाट लागूऔषध बरामद हुने क्रम पनि बढेको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीका अनुसार पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन्। पछिल्लो समय बालबालिका, किशोरकिशोरी र महिलासमेत लागूऔषध दुर्व्यसनमा फस्न थालेको भन्दै उनले अभिभावक, विद्यालय र समुदाय सबै सचेत हुनुपर्ने बताए।


















