माइतीघर डुबानको मुख्य कारण पूर्वाधारको त्रुटि, अतिक्रमण र प्राकृतिक जलाधारको विनाश

काठमाडौं: माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा दोहोरिने डुबानको मुख्य कारण पूर्वाधार निर्माणमा भएका प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण तथा प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्राविधिक प्रतिवेदनले औँल्याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित टोलीले स्थलगत अध्ययनपछि प्रतिवेदन तयार पारेको हो।

झरीपछि माइतीघर क्षेत्रमा पटक–पटक डुबान हुन थालेपछि साउन ५ गते काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा विकास साझेदार तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिसहित स्थलगत अनुगमन गरिएको थियो। त्यसपछि डंगोलले सम्बन्धित निकायका प्राविधिक अधिकारीहरूको संयुक्त टोलीलाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएकी थिइन्। सोही निर्देशनअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित टोलीले स्थलगत अध्ययन गरेको थियो।

टोलीमा काठमाडौं महानगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन रेग्मी, सडक विभागका इञ्जिनियर पुरुषोत्तम भण्डारी र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ सदस्य थिए।
प्रतिवेदनले माइतीघरको ढल निकास प्रणालीमै गम्भीर इञ्जिनियरिङ त्रुटि रहेको देखाएको छ।

अध्ययनअनुसार माथिल्लो भागबाट आउने ९० सेन्टिमिटर व्यासको ढल तल्लो भागमा पुग्दा ६० सेन्टिमिटरमा सीमित हुने भएकाले पानीको बहाव अवरुद्ध भई ‘बोटलनेक’ समस्या उत्पन्न हुन्छ। यही कारण वर्षाको पानी सहज रूपमा निकास हुन नसकी सडकमा जम्ने गरेको प्रतिवेदनमा उल्लेख छ।
यसका साथै टुकुचा खोलाको जलस्तर बढेका बेला ढलको पानी खोलातर्फ बग्न नसकी उल्टै सडक र आसपासका क्षेत्रमा फर्कने ‘ब्याक फ्लो’ समस्या पनि माइतीघर डुबानको अर्को प्रमुख कारण रहेको प्रतिवेदनले जनाएको छ।
प्रतिवेदनले डुबानको समस्या केवल भौतिक पूर्वाधारसँग मात्र नभई सहरी विकास र वातावरणीय परिवर्तनसँग पनि जोडिएको निष्कर्ष निकालेको छ।

विगतमा माइतीघर चोक आसपासका खुला जमिनले वर्षाको पानी जमिनमुनि सोस्ने प्राकृतिक जलाधारको काम गर्थे। तर, ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिलको कार्यालयलगायतका भवन निर्माण भएपछि जमिन कंक्रिटले ढाकिएको छ। यसले प्राकृतिक जलशोषण प्रक्रिया अवरुद्ध भई सतहमा बग्ने पानीको मात्रा बढेको र त्यसको प्रत्यक्ष असर माइतीघर क्षेत्रमा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै सरकारी तथा निजी संरचना निर्माण गरिएकाले नियमित सरसफाइमा अवरोध पुगेको पनि पाइएको छ।

साथै, ढलभित्र प्लास्टिकजन्य फोहोर, बोतल तथा ढुंगा–गिट्टी थुप्रिँदा पानीको बहाव झन् अवरुद्ध भई डुबानको समस्या थप जटिल बनेको प्रतिवेदनले औँल्याएको छ।