कर्फ्यु उल्लङ्घनपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन

विराटनगर: सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शन हिंसात्मक बनेपछि नेपाली सेना परिचालन गरिएको छ।

आइतबार राति दुई समूहबीच भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर २४ वर्षीय एक युवकको मृत्यु तथा नौ जना घाइते भएपछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।

कर्फ्युका बाबजुद सोमबार बिहान ठूलो सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएर टायर बाल्ने, आगजनी तथा तोडफोड गरेका छन्। प्रदर्शनकारीले कप्तानगञ्ज क्षेत्रमा पाँचवटा पसलमा तोडफोड गरी आगजनी गर्नुका साथै पूर्व–पश्चिम लोकमार्गसमेत अवरुद्ध गरेका छन्।

बढ्दो भिड नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयास पर्याप्त नभएपछि बख्तरबन्द गाडीसहित नेपाली सेना परिचालन गरिएको हो।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख वासुदेव घिमिरेका अनुसार सुरक्षा उपस्थिति थप सुदृढ पारेर अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।

क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ भने अवस्था सामान्य बनाउन सुरक्षाकर्मी परिचालन जारी रहेको जनाइएको छ।