ब्रोड पिक हिमपहिरो: दुई पर्वतारोहीको शव स्कार्दु ल्याइयो, खोज अभियान आइतबार पुनः सुरु हुने

काठमाडौं: पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको घातक हिमपहिरोमा ज्यान गुमाएका दुई पर्वतारोहीको शव स्कार्दु ल्याइएको छ।

पाकिस्तानी सेनाको हेलिकप्टरमार्फत नेपालका पुरबहादुर गुरुङ (युक्त) र ओमानकी पर्वतारोही नाधिरा अहमद अब्दुल्लाह अल हार्थीको शव स्कार्दु पुर्‍याइएको हो।

गिलगिट–बाल्टिस्तान प्रहरीले दिएको जानकारीअनुसार आजको उद्धार अभियानमा दुई शव सफलतापूर्वक निकालिएपछि कार्य स्थगित गरिएको छ। मौसम अनुकूल रहेमा र सञ्चालन अवस्था सहज भएमा आइतबार बिहानदेखि बाँकी बेपत्ताको खोजी तथा उद्धार अभियान पुनः सुरु गरिनेछ।

विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीमध्ये हालसम्म चार जनाको शव फेला परेको छ। यद्यपि प्रतिकूल मौसम र जटिल हिमाली भूभागका कारण आज दुई शव मात्र बाहिर निकाल्न सम्भव भएको हो। टोलीका अन्य ६ सदस्य अझै बेपत्ता छन्।

उद्धार कार्यमा पाकिस्तानी सेनाका हेलिकप्टर, उच्च हिमाली उद्धारकर्मी तथा भरियाहरू परिचालित छन्। काराकोरमको दुर्गम र जोखिमपूर्ण क्षेत्रमा खोजी अभियान जारी रहेकाले थप विवरण प्राप्त हुँदै जाँदा सार्वजनिक गरिने अधिकारीहरूले बताएका छन्।