महिला र वृद्धालाई बाटो सोधेर सिक्री लुट्ने ‘कर्मा समूह’ पक्राउ

काठमाडौं: काठमाडौं उपत्यकामा महिला तथा वृद्धवृद्धालाई बाटो सोध्ने बहानामा अलमल्याएर सुनका सिक्री लुट्दै आएको ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै समूहका नाइके ३४ वर्षीय कर्मा तामाङसहित पाँच जनालाई पक्राउ गरिएको जनाएको हो।

प्रहरीका अनुसार समूहले विशेषगरी बिहान र साँझ एक्लै हिँडिरहेका महिला तथा वृद्धवृद्धालाई निशाना बनाउँदै आएको थियो। बाटो सोध्ने बहानामा नजिकिएर पीडितलाई अलमल्याउने र मौका छोपेर घाँटीको सिक्री लुटेर मोटरसाइकलमा फरार हुने उनीहरूको शैली थियो।

लुटपाटको प्रतिकार गर्ने पीडितलाई घाँटी थिच्ने, कुटपिट गर्ने तथा घाइते बनाउने गरेकोसमेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ गर्न खोज्दा प्रहरीमाथि खुकुरी
समूहका नाइके कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउनुपरेको थियो।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई बौद्ध बस्दै आएका तामाङ शनिबार राति बुढानीलकण्ठको चुनिखेलस्थित पानी ट्यांकी नजिक लुकेर बसेको सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा तामाङले खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्न खोजेको प्रहरीको भनाइ छ। त्यसपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो। तर, तामाङ मोटरसाइकलमा भाग्न खोजेपछि प्रहरीले उनको घुँडामुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार तामाङ यसअघि पनि चोरी तथा डाँका मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्। उनी प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट समेत फरार भएका थिए।

चोरीको मोटरसाइकल, फेरिएको नम्बर प्लेट
प्रहरीका अनुसार समूहले सिक्री लुट्न चोरीका २२० सीसीका पल्सर मोटरसाइकल प्रयोग गर्ने गरेको थियो।

मोटरसाइकल चोरी गरेपछि नम्बर प्लेट परिवर्तन गरी लुटपाटमा प्रयोग गर्ने र घटनापछि पुनः नम्बर प्लेट तथा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने गरेको खुलेको छ। चोरीका मोटरसाइकल उपत्यकाबाहिर लगेर बिक्री गर्ने गरेको पनि प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट एउटा मोटरसाइकल, खुकुरी, पाँच थान फरक नम्बर प्लेट, मास्टर की र टी–लक बरामद गरेको छ।

को–को पक्राउ परे ?
कर्मा तामाङसँगै ३० वर्षीय प्रतिमान गोले, ३० वर्षीय पासाङ घिसिङ, २९ वर्षीय आले गुरुङ र ३६ वर्षीय मनोज तामाङ पक्राउ परेका छन्।

प्रहरीका अनुसार प्रतिमान गोले समूहका मुख्य राइडर थिए। पासाङ घिसिङ मोटरसाइकल चोरीमा संलग्न थिए भने आले गुरुङ लुटपाटका क्रममा प्रतिकार भए बल प्रयोग गर्न घटनास्थल आसपास सशस्त्र अवस्थामा बस्ने गर्थे।

लुटिएको सुन व्यवस्थापन गर्ने जिम्मेवारी भने बनेपामा सुन पसल सञ्चालन गर्दै आएका मनोज तामाङले लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनले लुटेर ल्याइएका गहना गालेर स्वरूप परिवर्तन गरी बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ।

असारदेखि नै श्रृंखलाबद्ध लुटपाट
प्रहरीका अनुसार समूहले असारदेखि नै उपत्यकाका विभिन्न स्थानमा सिक्री लुटपाट गर्दै आएको थियो।
असार १३ गते शान्तिनगरमा बाटो सोध्ने बहानामा एक व्यक्तिको करिब साढे दुई तोलाको सिक्री लुटिएको थियो।

असार १५ गते नरेफाँटमा तीन तोलाको सिक्री तथा बनेपामा दूध लिन जाँदै गरेकी महिलाको करिब साढे एक तोलाको सिक्री लुटिएको प्रहरीले जनाएको छ।
साउन ७ गते धापासी हाइटमा ६६ वर्षीया वृद्धाको घाँटीबाट एक तोलाको सिक्री लुटिएको घटनामा पनि यही समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

समूहका सदस्य पक्राउ परेसँगै उपत्यकामा हुने सिक्री लुटपाटका घटनामा कमी आउने प्रहरीले अपेक्षा गरेको छ।