काठमाडौं: युट्युबमार्फत भ्रामक तथा सामाजिक सद्भावमा असर पार्ने सामग्री प्रसारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्दै आएका ३९ वर्षीय जनक भुसाल रहेका छन्।
साइबर ब्युरोका अनुसार भुसालले ‘नेपाली खबर टीभी’ नामक युट्युब च्यानलमार्फत फलोअर्स बढाउने र आर्थिक लाभ लिने उद्देश्यले राज्यको विद्यमान परिस्थितिमा प्रत्यक्ष असर पार्न सक्ने भ्रामक भिडियो सामग्री तयार गरी प्रसारण गर्ने गरेका थिए।
प्रहरीका अनुसार उनले अफवाह फैलाउने, जातीय तथा धार्मिक हिंसात्मक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई उत्तेजित बनाउने र कानुनले प्रकाशन तथा प्रदर्शन गर्न निषेध गरेका सामग्री प्रसारण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
त्यस्तै, कुनै व्यक्ति वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने र विभिन्न जातजाति तथा समुदायबीचको सामाजिक सद्भावमा खलल पुर्याउने किसिमका सामग्रीसमेत प्रकाशन तथा प्रसारण गरेको आरोप भुसालमाथि छ।
सामाजिक सञ्जालको निगरानी तथा प्राविधिक विश्लेषणका क्रममा उनको संलग्नता खुलेपछि साइबर ब्युरोले इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा भुसाललाई साउन १६ गते बुटवलबाट पक्राउ गरेको जनाएको छ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार भुसालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















