काठमाडौं: बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले दुई वर्षपछि सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै यही वर्ष डिसेम्बरमा स्वदेश फर्किने दाबी गरेकी छन्।
सन् २०२४ को विद्यार्थी आन्दोलनपछि देश छाडेर भारतमा रहँदै आएकी हसिनाले बुधबार साँझ नयाँ दिल्लीबाट आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बंगलादेशको राजनीति, आवामी लिग, विद्यार्थी आन्दोलन र आफ्नो स्वदेश फिर्तीबारे धारणा राखेकी हुन्।फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाले आयोजना गरेको पत्रकार सम्मेलनमा हसिना अडिओमार्फत सहभागी भएकी थिइन्।
हसिनाले के भनिन्?
डिसेम्बरमा स्वदेश फर्किने दाबी
हसिनाले आफू यही वर्ष डिसेम्बरमा बंगलादेश फर्किने बताइन्।
‘म आफ्ना जनतामाझ डिसेम्बरमा फर्किनेछु,’ उनले भनिन्। स्वदेश फर्किने निश्चित मिति भने उचित समयमा सार्वजनिक गर्ने उनको भनाइ छ।
‘यो त्यो बंगलादेश होइन’
पछिल्ला दुई वर्षमा बंगलादेशले ठूलो तनाव र दुःख व्यहोरेको हसिनाले बताइन्।
‘यो त्यो बंगलादेश होइन, जसलाई हामीले बनाएका थियौं। यो त्यो बंगलादेश होइन, जसका लागि सन् १९७१ मा ३० लाख मानिसले बलिदान दिएका थिए,’ उनले भनिन्।
आफूलाई मनगढन्ते तथा फर्जी मुद्दामा फसाउने प्रयास हुनसक्ने आशंका पनि उनले व्यक्त गरिन्।
विद्यार्थी आन्दोलन शान्तिपूर्ण नभएको आरोप
सन् २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलन शान्तिपूर्ण नरहेको हसिनाले दाबी गरिन्।
‘सत्य यो हो कि त्यो कुनै शान्तिपूर्ण विद्यार्थी आन्दोलन थिएन,’ उनले भनिन्।
आन्दोलनका पछाडि केही संगठित समूह रहेको र उनीहरूले विद्यार्थीका मागलाई ‘हिंस्रक राजनीतिक हतियार’ मा परिणत गर्न खोजेको आरोप हसिनाले लगाइन्।
‘म आफ्ना मानिससँग अलग भएकी छैन’
देशबाट टाढा रहे पनि आफू बंगलादेशका जनताबाट अलग नभएको हसिनाको भनाइ छ।
‘जसले आफ्नो जिन्दगी बंगलादेशका जनतासँग बिताएको छ र जसलाई आफ्नो देशबाट टाढा जान बाध्य पारिएको छ। तर, म कहिल्यै पनि आफ्ना मानिससँग अलग भएकी थिइनँ,’ उनले भनिन्।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा




















