सशस्त्र प्रहरीका एसपीहरूको सरुवा, भदौ १ देखि लागू हुने

काठमाडौँ: सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहीबार पत्र जारी गर्दै एसपीहरूको सरुवाबारे जानकारी गराएको हो। सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ तथा नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सरुवा गरिएको जनाइएको छ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका एसपीहरूलाई विभिन्न कार्यालयमा काज तथा सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ। सरुवा भएका प्रहरी अधिकृतले नियमानुसार सरुवा भएको कार्यालयबाट तलब, भत्ता तथा रासन पाउनेछन्।

उक्त सरुवा आगामी भदौ १ गतेदेखि लागू हुनेछ।
सरुवासम्बन्धी आवश्यक विवरण अभिलेख किताबमा जनाउन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (प्रहरी शाखा), लैनचौरलाई समेत पत्राचार गरिएको छ।

सम्बन्धित कार्यालयहरूलाई पनि अभिलेख किताबमा आवश्यक व्यहोरा जनाउन बोधार्थमार्फत जानकारी गराइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ।