काठमाडौंः अमेरिकाको लस एन्जलसका विभिन्न भागमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने हजारौं घर ध्वस्त भएका छन् । आगो चारैतिर फैलिन थालेपछि १ लाख ८० हजार मानिसहरूलाई तुरुन्तै सुरक्षित स्थानतर्फ सार्न आदेश जारी गरिएको छ भने थप २ लाख मानिसहरूलाई सावधानीका लागि सचेत गराइएको छ । हप्तौंसम्म पनि उक्त आगलागी नियन्त्रणमा आउन सकेको छैन ।
प्रतिकूल मौसम, सुक्खा अवस्था र जलवायु परिवर्तनको प्रभावले आगामी केही दिनसम्म आगलागी नियन्त्रणमा आउन गाह्रो हुने स्थानीय अधिकारीहरूले जनाएका छन् । लस एन्जलस काउन्टीमा हालसम्म १ लाख ७९ हजार मानिसलाई आफ्नो घर छाड्न आदेश दिइएको छ । तीमध्ये धेरैजसोले आफूसँग भएका थोरै सामानमात्र बोकेर सुरक्षित स्थानतर्फ गएका छन् ।














