न्यायाधीश माधव अधिकारीको इजलासमा रवि लामिछानेको बयान हुने, मुद्दाको बयानका लागि लामिछाने आज अदालत हाजिर

लामिछानेको बयान

काठमाडौंःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ । अधिकारीकै इजलासमा लामिछानेको बयान र थुनछेक बहस हुने अदालत स्रोतले जानकारी दिएको छ । गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको इजलासले लामिछानेसहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो । सोही अनुसार लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका छन् । लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आज अदालत हाजिर भएका हुन् । स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिलले रविलाई सो रकम बिगो मागदाबी राखेका छन् । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मीसहित, बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइलामा पनि मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ ।