जुम्ला : जुम्लाका आठ वटा स्थानीय तहका आठ हजार ८ सय २९ जना छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने भएको छ।
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब आठ हजार आठ सय २९ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापीलोमा भाइर ( एचपीभी ) विरूद्धको खोप दिइने भएको हो ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्यांक संकलन कार्य भइरहेको छ । देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ ।
जुम्लाको हकमा फागुनदेखि सामुदायिक विद्यालय खुल्ने भएकाले त्यसैअनुसार कार्यालयले खोप कार्यक्रम सञ्चालनका लागि स्थानीय तहका स्वास्थ्य शाखासँग छलफल समेत गरिएको छ ।
कार्यालय प्रमुख सापकोटाले भने, विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका एक हजार पाँच सय ८६ जना र विद्यालयभित्रका सात हजार दुई सय ४३ गरी आठ हजार आठ सय २९ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको छ ।
जनस्वास्थ्य सेवा कार्यालयको तथ्यांकअनुसार जिल्लाको चन्दननाथ नगरपालिकाका एक हजार आठ सय ७९ जना, गुठीचौर गाउँपालिकामा पाँच सय २०, हिमामा एक हजार १३ र कनकासुन्दरीमा नौ सय ६७ जनालाई खोप लगाइने छ ।
त्यस्तै पातारासी गाउँपालिकाका एक हजार एक सय ५८, सिंजाका नौ सय सात, तातोपानीका एक हजार एक सय ५३ र तिलाका एक हजार दुई सय ३२ जना छात्रालाई खोप लगाउने योजना रहेको छ ।
विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ। छ ।



















