स्पेनिस् ला लिगा फुटबलमा बार्सिलोनाले भ्यालेन्सियाको पोस्टमा गोलको वर्षा गरेको छ ।
गएराति घलेरलु मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई सात एक गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफअघि नै बार्सिलोनाले पाँच गोल गरिसकेको थियो । बार्सिलोनालाई फराकिलो जित दिलाउन लोपेजले दुई गोल गर्दा, डी जोङ, टोरेस, राफिन्हा र लेवान्डोस्कीले समान एक–एक गोल गरेका थिए ।
पहिलो हाफ लगत्तै ह्यूगो डुरोले एक गोल फर्काउँदा भ्यालेन्सियाले ७५औं मिनेटमा बार्सिलोनालाई एक आत्मघाती गोल उपहार दियो । यो जितसँगै बार्सिलोनाको २१ खेलबाट ४२ अंक जोड्दा दोस्रो स्थानको एटलेटिको मड्रिडसँग दुरी छोट्टिएको छ ।
दोस्रो स्थानको एटलेटिकोको ४५ अंक छ भने शीर्ष स्थानको रियाल मड्रिडको समान खेलबाट ४९ अंक छ । गएराति नै भएको अन्य खेलमा गेटाफे र रायो भायकानोलाई पनि सफलता मिलेको छ । भायकानोले गिरोनालाई दुई एकले हराउँदा गेटाफेसँग रियल सोसिडा तीन शून्य गोल अन्तरले पराजित भयो ।
जितसँगै भायकानो अंक तालिकाको सातौँ र गेटाफे १४औँ स्थानमा उक्लिएका छन् । यस्तै आइतबार राति नै भएको अर्को खेलमा एथ्लेटिक क्लब र लेगानेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।












