आप्रवासी फिर्ता पठाएपछि कोलम्बियाप्रति रुष्ट ट्रम्प, आयातित वस्तुमा २५ प्रतिशत कर लगाएतका प्रतिबन्ध लगाउने घोषणा

ट्रम्प रुष्ट

आप्रवासी बोकेका दुई वटा अमेरिकी सैन्य जहाजलाई फिर्ता पठाइदिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोलम्बियाप्रति रुष्ट बनेका छन् ।

राष्ट्रपति ट्रम्पले कोलम्बियाबाट आयात हुने सम्पूर्ण वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा नै गरेका छन् । अमेरिकाले कोलम्बियाका सरकारी अधिकारीमाथि पनि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । जवाफमा कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोले पनि अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

आप्रवासी अपराधी नभएको जिकिर गर्दै पेट्रोले सैन्य विमानमार्फत् उनीहरुलाई पठाउन नहुने भन्दै उक्त विमानलाई फिर्ता पठाउन निर्देशन दिएका थिए । लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले तत्काल निर्णायक प्रतिशोधात्मक उपाय घोषणा गर्दै कोलम्बियाली सरकारी अधिकारी, सहयोगी र समर्थकमाथि यात्रा प्रतिबन्धदेखि भिसा खारेजसम्मका घोषणा गरेका हुन् ।

कोलम्बियामा १५ हजारभन्दा बढी अमेरिकी नागरिक अवैध रुपमा बसोबास गर्दै आएको तर आफ्नो सरकारले उनीहरुलाई फिर्ता नपठाउने पेट्रोको भनाइ छ ।