पहाडी क्षेत्रको मौसम आंशिक बदली

मौसम बदली

काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ ।

मौसम बदली भएपनि पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको न्यूनतम तापक्रम आइतबारको तुलनामा केही घटेको छ । महाशाखाका अनुसार सोमबार बिहान पौने छ बजे काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलब १ डिग्री सेल्सियस मापन भएको छ ।

आइतबार न्यूनतम तापक्रम ८ दशमलब १ डिग्री सेल्सियस मापन भएको थियो । महाशाखाका अनुसार आज पूर्वदेखि लुम्बिनी प्रदेशसम्मको पहाडी भेगमा आंशिक बदली हुनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा भने मौसम मुख्यतया सफा रहनेछ । तराईका धेरै ठाउँमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।