वैदेशिक सहायता स्थगन गर्ने ट्रम्पको आदेशले नेपाल पनि प्रभावित, २६ अर्बका कार्यक्रम रोकियो

अनुदान स्थगित गर्ने आदेश

 

अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले नेपालमा सञ्चालित सबै परियोजना स्थगित गर्न पत्र पठाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिनाका लागि विदेशी अनुदान स्थगित गर्ने आदेश दिएसँगै यूएसएआईडीले नेपाललाई पनि पत्र पठाएर तीन महिनाका लागि सबै कार्यक्रम रोक्न भनेको हो । यूएसएआईडीले अर्थ मन्त्रालयलाई पनि पत्र लेखेर अनुदानमा सञ्चालित सबै कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको छ ।

पत्रमा यूएसएआईडी र नेपालको सम्झौताअनुसार सञ्चालित स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीतिसहित मुख्यतः चार क्षेत्रका कार्यक्रम तत्काल निलम्बित भएको उल्लेख छ । तीन महिना पछि प्रभावकारिताका आधारमा मूल्याङ्कन गरेर अनुदान दिने÷नदिनेसम्बन्धी निर्णय गर्नेसमेत पत्रमा उल्लेख छ । योसँगै नेपालमा करिब २६ अर्ब रुपैयाँबराबरका विभिन्न परियोजना र कार्यक्रम प्रभावित भएका छन् ।

अमेरिकाको सबैभन्दा धेरै सहायता एमसिसी कार्यान्वयनमा छ । अमेरिकाले समीक्षा नगरुन्जेल सबै परियोजना र कार्यक्रम यथास्थितिमा रहनेछन्  । ट्रम्पले पद सम्हाले लगत्तै अमेरिकाले तत्कालका लागि वैदेशिक अनुदान रोक्ने निर्णय गरेपछि विश्वभर नै तरङ्ग उत्पन्न भएको छ । अब तीन महिनाको समीक्षापछि अनुदान स्थगन गर्ने वा निरन्तरता दिने भन्ने विषय अमेरिकी सरकारले टुङ्गो लगाउने छ ।