त्रिशूलीमा बेपत्ता युवा भारतीय सैनिक भएको पुष्टि

काठमाडौं: चितवनको भरतपुर महानगरपालिका–१ स्थित रामपुर बस्ने २७ वर्षीय रोहित राना त्रिशूली नदीमा बेपत्ता छन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा उछिट्टिएर त्रिशूलीमा खसेका उनको खोजी भइरहेको छ ।

इलाका प्रहरी कार्यालय, मुग्लिनकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरला भण्डारीका अनुसार उनी बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका थिए ।

बेपत्ता रानाका परिवारका सदस्य सम्पर्कमा आइसकेको भण्डारीले बताइन् । परिवारका सदस्यहरू भर्खरै आइपुगेका छन् । अहिले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरको टोलीले त्रिशूलीमा उनको खोजी गरिरहेको छ ।

बिहान लगभग ११ बजेर ५० मिनेटको समयमा मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोक्किएको थियो । मोटरसाइकल भने सडकमै छ ।