भक्तपुर: भक्तपुर क्यान्सर अस्पताले क्यान्सर विजेता र उपचाररत बाललालिकासँग विश्व बाल क्यान्सर दिवस मनाइएको छ।
भक्तपुर क्यान्सर अस्पतालमा शुक्रबार क्यान्सर विजेता र उपचाररत बाललालिका तथा उनीहरुका परिवारसँग अन्तर्क्रिया तथा बालबालिकाका विविध कला प्रस्तुती गरि विश्व बाल क्यान्सर दिवस मनाइएको हो।
हरेक वर्ष फेब्रुवरी १५ अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाइन्छ। यस वर्षको नारा ‘ईनस्पाइरिङ एक्सन’ अर्थात ‘प्रेरणादायी कार्य’ रहेको छ। बालबालिकामा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु भएको हो।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले समयमै रोग पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशत भन्दा बढी निको हुने जानकारी गराए ।
कार्यक्रममा अस्पतालका बाल क्यान्सर विशेषज्ञ डा. श्रृतु लामिछानेले नेपालमा वार्षिक १५०० जति बालबालिकाहरुमा नयाँ क्यान्सर हुने अनुमान रहेको बताइन् । उनले बाल क्यान्सर सम्पूर्ण क्यान्सरहरुमा छैठौं र बाल स्वास्थ्य समस्याहरुमा नवौं प्रमुख जनस्वास्थ्य समस्या भएको समेत जानकारी दिइन्। उनले भक्तपुर क्यान्सर अस्पतालमा अहिले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क भइरहेको बताइन् ।
डा. लामिछानेका अनुसार बालबालिकाहरुमा सबैभन्दा बढी देखिने भनेको रगतको क्यान्सर (ल्युकेमिया र लिम्फोमा) हो। लिम्फोमा रगतकै कोशिकाबाट देखिएर ग्रन्थीहरुमा देखिने एकप्रकारको क्यान्सर हो।
त्यसैगरी ब्रेन ट्युमर, मिर्गौला, जोर्नी, हड्डी, मांसपेशी, आँखाको रेटिनोमा हुने रेटिनाब्लास्टोमा, न्युरोब्लास्टोमा लगायतका विभिन्न किसिमका क्यान्सरहरु देखिन सक्छ।


















