आहा रारा गोल्डकप उपाधिका लागि पुलिस र ब्ल्याक बुल्स भिड्दै

पोखराः  २४औं आहारारा पोखरा गोल्डकपको उपाधिका लागि नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्सबीच आज प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा पुलिस र पाहुना टोली ब्ल्याक बुल्सबीच उपाधि भिडन्त दिउँसो २ः३० बजे सुरु हुनेछ । पुलिसले ११औं पटक फाइनल खेल्न लागेको हो भने ब्ल्याक बुल्स पहिलो सहभागितामै फाइनल पुगेको हो ।

पुलिसले उद्घाटन खेलमै आयोजक सहारा क्लबलाई १–० ले पराजित गरेको थियो । क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० ले पराजित गरेको पुलिसले सेमिफाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराएर फाइनल पुगेको हो ।

बाई पाएर सिधै क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले खेलेको दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको हो ।

क्वाटरफाइनलमा सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० ले पराजित गरेको ब्ल्याक बुल्सले पाँच पटकको आहारारा पोखरा गोल्डकप विजेता थ्री स्टारलाई ४–० ले हराएर पहिलो सहभागितामै फाइनल पुगेको हो ।

पुलिसले २४ मध्ये २३ संस्करण खेलेको छ र आहारारा पोखरा गोल्डकपमा कीर्तिमान बनाउने अवसर छ ।

पुलिसले फाइनल जिते सर्वाधिक ७ पटक उपाधि जित्ने पहिलो टिम बन्नेछ ।