स्वास्थ्य तथा जनसंख्या मन्त्रालद्धारा आइभीएफ सेन्टरलाई ५ बुँदे निर्देशन

काठमाडौंः  झुटो प्रचार गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईभीएफ सेन्टरलाई ५ बुँदे निर्देशन दिएको छ।

स्वास्थ्य संस्थाले आइभीएफ सेवा सम्बन्धमा झुटो प्रचार प्रसार तथा चर्को मिडियाबाजीगरी सेवाग्राहीहरुलाई चरम ठगी गरेको भन्दै ५ बुँदे निर्देशन दिएको हो ।

साथै मनोमानी ढंगले शुल्क समेत असुल्न गर्ने गरेको भनी गुनासाहरु आएपछि मन्त्रालयको माघ ३० गतेको निर्णयबमोजिम आईभीएफ सेवालाई व्यवस्थित बनाउन सेवा प्रदायक स्वास्थ्य संस्थाका लागि केही व्यवस्था कार्यान्वयन गर्न समेत निर्देश दिइएको छ।

यसैगरी स्वास्थ्य संस्थाहरुले आईभीएफ सेवा सम्बन्धमा झुटो प्रचार–प्रसार गर्न पनि मन्त्रालयले रोक लगाएको छ। सेवा शुल्कको विवरण संस्थाको वेबसाइटमा अनिवार्य रुपमा राख्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ।

त्यस्तै शाखा विस्तार गर्नुपरेमा समेत अनुमति प्रदान गर्ने निकायबाट मापदण्डबमोजिम प्रक्रिया पूरा गरी पुनः अनुमति लिनुपर्ने व्यवस्था पनि मन्त्रालयले गरेको विषय प्रति मन्त्रालयले ध्यानकर्षण पनि गराएको छ ।

आइभीएफ संस्थामा सेवाका लागि आउने विपन्न, असहाय बिरामीका लागि १० प्रतिशत निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउन र संस्थाबाट प्रदान गरिएको सेवाको प्रतिवेदन प्रत्येक चौमासिक रुपमा अनुमति प्राप्त गर्ने निकायमा अनिवार्य रुपमा उपलब्ध गराउन समेत मन्त्रालले निर्देशन दिएको छ ।