काठमाडौंः नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
संघले जारी विज्ञप्तिका अनुसार बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो संस्था अगाडि कालोपट्टी बाँधी कार्यलय समयको पहिलो एक घण्टा धर्ना दिने कार्यक्रम रहेको जनाएको छ ।
साथै यी कार्यक्रम सञ्चालन गर्दा पनि सरकारले आफ्नो माग सम्बोधन नभएमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न संघ बाध्य हुने चेतावनी पनि दिएको छ ।
संघका महासचिव डा. सन्जिब तिवारीले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको बताएका छन् ।
जसमध्ये सरकारले १ र २ नम्बर बुँदाको माग पूरा गरेको तर अन्य विषयमा चासो नदिएको भन्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको महासचिव तिवारीले जानकारी दिएका छन् ।


















