तनहुँ: मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ ।
हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो ।
उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ ।
मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन (डिपीआर) पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो ।
नवलपुरको गैँडाकोट नगरपालिका–३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक सडक र उक्त बाटो हुँदै दासढुङ्गादेखि मुग्लिनसम्म तनहुँतर्फ त्रिशूलीको किनारमा वैकल्पिक मार्ग आवश्यक भएको भन्दै स्थानीयवासीले माग गरेक थिए ।
उक्त वैकल्पिक सडकका लागि विगतमा सरकारको नीति तथा कार्यक्रममा समावेश भइ अध्ययनका लागि बजेट विनियोजन भए पनि पछि सरकारले उक्त योजना रद्द गरेको थियो ।
उक्त सडक निर्माण गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने बिश्वास स्थानीयले गरेका छन् ।
हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएको हुँदा गैँडाकोटबाट देवघाट हुँदै दासढुङ्गा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरैभन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने स्थानीयले बिश्वास गरेका छन् ।
हाल सञ्चालनमा रहेको मुग्लिन–नारायणगढ सडकमा वर्षाको समयमा पहिरो गएर समस्या भोग्नुपरेकाले वैकल्पिक सडक अति आवश्यक स्थानीयले गरेका हुन् ।
वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ ।


















