सरोज गुरागाईंलाई हाजिर नगराउने मेयर बालेनको अडान

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर नगराउने अडानमा लगेका छ्न् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै महानगरले अर्को प्रशासकीय अधिकृत पठाउन र त्यतिञ्जेलका लागि निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन महानगरले माग पनि गरेको छ ।

शहरी विकास मन्त्रालयले प्रशासकीय अधिकृत गुरागाईंलाई काम गर्न दिन भन्दै महानगरलाई पत्राचार गरेको थियो । त्यसलाई अस्वीकार गर्दै महानगरबाट पत्राचार गरिएको हो ।

महानगरको पत्रमा गुरागाईंलाई हाजिर गराएमा महानगरका विभिन्न परियोजना र कार्यहरुमा नकारात्मक प्रभाव तथा कानूनी झण्झट आइलाग्ने उल्लेख गरिएको छ ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्न वा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सुसञ्चालनमा सहयोगको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पत्राचार गर्ने भनी मिति २०६१/११/२२ मा प्रमुख स्तरीय निर्णय भएको ले सो अनुसार हुन अनुरोध गरिन्छ’, वरिष्ठ शाखा अधिकृत शान्ता पहाडीद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ।