नेपाली विषय पाठ्यक्रम निर्माणमा ‘मनोपोली’ भएको महिला साहित्यकारको आरोप

काठमाडौं: महिला साहित्यकारले त्रिभुवन विश्वविद्यालयको नेपाली विषयको पाठ्यक्रम निर्माणमा ‘मनोपोली’ भएको आरोप लगाएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा नारी स्रष्टाका रचनालाई उपेक्षा गरिएको भन्दै नेपाली विषयको पाठ्यक्रम निर्माणमा ‘मनोपोली’ भएको आरोप लगाएका हुन् ।

त्रिविमा अध्यापनरत विन्दु शर्माले नेपाली केन्द्रीय विभागले पछिल्लो समय पहुँचका आधारमा पाठ्यक्रममा रचना राख्न थालेको बताइन् । नारी स्रष्टाका रचनालाई बेवास्ता गरिएको उनले गुनासो समेत गरिन् । साथै एमए र बीएको पाठ्यक्रम निर्माण गर्दा विषय समिति र नेपाली विभागका प्रमुखले मनलाग्दी रचना राखेको आरोप पनि लगाइन्।

शर्माले अग्रज साहित्यकारहरू पारिजात र तोया गुरुङसहित थोरै मात्र नारी स्रष्टाका रचना परेको उल्लेख गरिन् । पाठ्यक्रममा पुरुषवादी चिन्तन हाबी भएको उनले बताइन् ।
उनले भूपि शेरचन पनि पाठ्यक्रममा नपरेको बताइन् । अब्बल होइन कि भनसुनका आधारमा रचना राखिएको भन्दै उनले आलोचना गरिन् ।

डा. रजनी ढकालले आफूहरूलाई पाठ्यक्रम बनाउन भनिएको तर पछि त्यसलाई तोडमोड गरेर निकालिएको भन्दै आक्रोश पनि व्यक्त गरिन् ।

कवि रीता खत्रीले अबको बाटो खोज्नुपर्नेमा जोड दिइन् । त्यसका निम्ति सबैको साथ जरुरी भएको उनले बताइन् ।

कार्यक्रममा उपस्थित अरू सर्जकले पनि ३३ प्रतिशत महिलाका रचना अनिवार्य समावेश हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा महिला साहित्यकारहरुले एमए र बीएको पाठ्यक्रम निर्माण गर्दा विषय समिति र नेपाली विभागका प्रमुखले मनलाग्दी रचना राखेको उनको भनाइ थियो ।