निजगढ: ओपन आइज नेपाल र निजगढ तिलगंगा सामूदायिक आँखा अस्पतालको सहकार्यमा निजगढका ५० जना प्राथमिक स्वास्थ्य सेवा कार्यकर्ताहरुको लागि बालबालिकामा हुने रेटिनोब्लास्टोमाको प्रारम्भिक पहिचानको महत्व र प्रविधिबारे फागुन २३ गते एकदिने तालिमको आयोजना गरिएको छ।
आँखा क्यान्सर विशेषज्ञ डा.पुर्णिमा राजकर्णिकारका अनुसार हाम्रो समाजमा आँखा डेढो भएका तथा कालो भागको बीच भाग सेतो भएका बालबालिकाहरुलाई भाग्यमानी ठान्ने चलन छ। तर यो आँखा रोगको लक्षण हुन सक्ने डा.पुर्णिमा राजकर्णिकार बताउँछिन् ।
उनका अनुसार कतिपयले यी लक्षणका जटिलतालाई नबुझेका कारण अस्पताल जानमा ढिलाई गर्छन्। यीनै कारणले गर्दा यो रोग लागेका बालबालिकाहरुलाई अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेको हुने उनको भनाइ छ।
यस्ता समस्या समयमै उपचार गर्न सके आँखा तथा ज्यान जोगाउँन सकिने उनी बताउँछन् । त्यसैको लागि यो सचेतना तथा आर्कलाइट वितरण कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिइन् ।
आर्कलाइट एक साधारण र सजिलै ओसारपसार गर्न सकिने उपकरण हो जसले बालबालिकाको आँखामा रेटिनोब्लास्टोमाको प्रारम्भिक चिन्ह, सेतो रिफ्लेक्स पत्ता लगाउन प्रयोग गरिन्छ। यसलाई दृष्टि परिक्षण र आँखासँगै कानको विस्तृत परिक्षणको लागि पनि प्रयोग गर्न सकिन्छ। प्रत्येक सहभागीलाई आर्कलाइट उपकरण प्रयोग गरेर आफ्नो क्लिनिक र घरको भ्रमणमा ५ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको आँखाको स्क्रिनिङ् गर्न र रेटिनोब्लास्टोमाको जाँच गर्न अपेक्षा गरिएको छ।
यस्ता लक्षण देखिएमा वा कुनै पनि शंका लागेका बालबालिकालाई थप मूल्यांकनको लागि तिलगंगा निजगढ सामूदायिक आँखा अस्पताल वा तिलगंगा आँखा प्रतिष्ठानमा पठाउनुपर्ने उनको भनाइ छ ।
रेटिनोब्लास्टोमा बालबालिकामा हुने एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना) बाट पलाउने क्यान्सर हो। यो नवजात शिशु देखि पाँच वर्ष मुनिका बालबालिकाहरुको देखा पर्दछ। १५ हजार नवजात शिशु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुने सम्पूर्ण क्यान्सरको ५५ ओगटेको छ। यो रोगको उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यान समेत जान सक्दछ।
नेपाल लगायत विकासोन्मुख देशहरुमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५० प्रतिशत रहेको छ तर विकसित देशहरुमा भने ५ प्रतिशत भन्दा कम पाइएको छ। रेटिनोब्लास्टोमा एउटा जटिल रोग भएता पनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामानै चिकित्सक कहाँ गई रोग पत्ता लगाएर उपचार गरेको खण्डमा बालबालिकालाई पूर्ण रुपमा क्यान्सरमूक्त बनाउनुका साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिन्छ।
रेटिनोब्लास्टोमाको प्रमुख लक्षण आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो। यस्तो लक्षण देखिएता पनि बालबालिका भने स्वस्थ नै देखिन्छन्। जसका कारण बालबालिका तथा अभिभावकलाई यो विषयमा थाहा हुदैन र उपचारको लागि ढिलो हुने कारणमध्ये यो पनि एक हो। यसका साथै रंगीन फोटोमा आँखाको नानी सेतो टिका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्नु, दृष्टि कम हुनु, आखाँको आकार ठूलो हुदै जानु र बाहिर तिर आउनु यसका अन्य लक्षण हुन्। उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा बढिरहने हुन सक्छ। यो क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरिरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यान सम्म जाने जोखिम रहन्छ।
तिलगंगा आँखा प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्ष देखि हुदै आईरहेको छ। प्रतिष्ठानमा वर्षेनी ३५ देखि ४५ नयाँ बिरामीको संख्या उपचारको लागि आउने गरेका छन् जसमध्ये १५ जनाको दुबै आँखामा रोग लागेको पाइएको छ। यस रोग लागेका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ओपन आईज नेपालको सहयोगमा निःशुल्क उपचार प्रदान गरिरहेको छ।


















