तोडफोड र आगजनी गरेको आरोपमा चार विद्यार्थी नेता पक्राउ

विराटनगर: विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र आगजनी गरेको आरोपमा शेखर कोइराला पक्षधर नेविसंघका चार विद्यार्थी नेता पक्राउ परेका छन् ।

स्ववियु निर्वाचनको विवादपछि बुधबार क्याम्पसको निर्वाचन समितिको कार्यालयमा कोइराला पक्षका विद्यार्थीले तालाबन्दी गरेका थिए ।‌ त्यही क्रममा आगजनी र तोडफोड भएको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका–२ घर भइ विराटनगर बस्दै आएका नेविसंघका योगराज दाहाल, आयुष दाहाल, नेविसंघ मोरङ सचिव गुड्डु साह र बुढीगंगा नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वासलाई छन् ।‌ योगराज कोइराला पक्षबाट स्ववियु सभापति उमेदवार हुन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघका दुई खेमाले अलग अलग मनोनयन दर्ता गरेपछि विवाद भएको थियो ।

महेन्द्र मोरङ क्याम्पसमा नेता शेखर कोइराला पक्षबाट योगराज दाहाल र संस्थापन पक्षबाट प्रज्वलजंग विष्टको प्यानल दर्ता भएको थियो । तर, कोइराला पक्षको खेमालाई निर्वाचन समितिले स्वतन्त्र नामबाट नामावली प्रकाशन गरिदिएपछि आक्रोशित विद्यार्थीले बुधबार निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका थिए ।‌ विवाद बढेपछि नेविसंघका विद्यार्थीले तोडफोड र आगजनी गरेको बताइएको छ ‌।

ताला भने प्रहरीले तोडेको थियो । आगजनी र तोडफोड विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ‌।