२५ करोडसहित पक्राउ परेका ट्रक चालकलाई प्रहरीले अनुसन्धानका लागि पठाइयो

काठमाडौं: डलर र युरो गरेर २५ करोड रुपैयाँ भन्दा बढीसहित पक्राउ परेका ट्रक चालकलाई प्रहरीले राजवश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन ललितपुर पठाएको छ ।

टोखाबाट सोमबार राति पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चालकको सिटमाथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड बढी रकमसहित टोखाको झोरबाट लामालाई पक्राउ गरेको थियो ।

बरामद गरिएको युरो, डलरसहित थप अनुसन्धान र कारबाहीका लागि विभाग पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीमाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को कसुरमा उच्च अदालत पाटनबाट म्याद लिएर विभागले अनुसन्धान गर्नेछ ।

यो डलर सुन खरिदका लागि चीन जान लागेको प्रहरीले दाबी गरे पनि यसका मालिक को हुन् भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

पक्राउ परेका चालकले भने एक चिनियाँ नागरिकले सामाखुसीमा ल्याएर दिएको दाबी गरेका छन् ।