काठमाडौं: मुलुकमा बसाइँसराई क्रममा बढेको देखाएको छ ।
मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदनले
बसाइँसराई क्रममा बढेको देखाएको हो।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभित्र आफ्नो मूलथलो छोडी बसाइँ सर्नेको अनुपात २९.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले जानकारी दिए ।
उनले सबैभन्दा बढी स्थायी आन्तिरक बसाइँसराइ गर्ने जनसंख्या पहाडमा रहेको बताए । उनका अनुसार, पहाडबाट विगत १० वर्षको अवधिमा ३२ प्रतिशत नागरिकहरू सरेका छन् भने तराईबाट २८.९ प्रतिशत नागरिक बसाइँ सरी अन्यत्र गएका छन् । हिमाली क्षेत्रबाट १३.८ प्रतिशत नागरिक बसाइँ सरेका छ्न्।
बसाइँ सरेकामध्ये २५.९ प्रतिशत आश्रित भएर गएका, २४.९ प्रतिशत विवाहले गर्दा बसाइँ सरेका तथा १९ प्रतिशत नागरिक कामको अवसरको कारण बसाइँ सरेर गएको तथ्यांक छ ।
त्यस्तै, नेपालमा आश्रित जनसंख्याभन्दा काम गर्ने जनसंख्या अधिक अनुपातमा रहेका छन् ।
त्यस्तै, सक्रिय उमेर समूह अर्थात् काम गर्नसक्ने उमेरसमूहको जनसंख्या ६५.२ प्रतिशत छ । प्रतिवेदनमा १५ वर्षमूनिका र ६५ वर्षमाथिको जनसंख्या क्रमशः २७.८ र ६.९ प्रतिशत देखिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै अन्यत्रको तुलनामा तराई क्षेत्रमा जनसंख्या वृद्धिदर उच्च रहेको जानकारी दिँदै यही अनुपातमा जनसंख्या वृद्धि भएको अवस्थामा तराईले थेग्न नसक्ने प्रवक्ता ढुण्डरीराज लामिछानेले उल्लेख गरे । साथै समग्र मुलुकको प्रजनन् दरमा समेत कमी हुँदै जाने पनि उनले बताए ।
प्रतिवेदन अनुसार ग्रामीण क्षेत्रको कोरा जन्मदर १५.७ छ भने सहरी क्षेत्रको १३.६ रहेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय जनगणना २०७८ का पाँचवटा विषयगत प्रतिवेदन सार्वजनिक गरेको हो ।



















